चालु आर्थिक वर्षमा अख्तियारको ३० वटा स्टिङ अप्रेसन, सहसचिवसहित ४८ कर्मचारी पक्राउ



काठमाडौं कात्तिक २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको स्टिङ अप्रेसनमा एक सहसचिव, चार उपसचिव तथा अधिकृतलगायत ४८ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अप्रेसन गरेको हो । विभिन्न कामका लागि कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस र रिसवत माग गरी भ्रष्टाचार गर्ने कर्मचारीहरुलाई आयोगले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घूस र रिसवत माग गर्ने सरकारी सेवामा कार्यरत निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षकलगायत विभिन्न कार्यालयका कर्मचारी रहेका छन् । आयोगको कार्यालय इटहरीले चार, बर्दिबासले तीन, हेटौंडाले दुई, पोखराले दुई, बुटवलले आठ, सुर्खेतले एक, कञ्चनपुरले दुई, टङ्गालले छ र बुटलको सम्पर्क कार्यालय नेपालगञ्जले दुई गरी चलाएको २९ स्टिङ अप्रेसनबाट ४८ जना पक्राउ परेका हुन् ।

प्रहरीको कमाण्डमा हुने स्टिङ अप्रेसनमा यो आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी आयोगको कार्यालय बुटवलमा आठवटा अप्रेसन गरेकोमा घूस र रिसवत माग गरेको आरोपमा उपसचिव वा सो सरहका तीन जना कर्मचारी, अन्य अधिकृत, जनप्रतिनिधिका साथै नेपाल प्रहरीको कर्मचारीलाई समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्