देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौं कात्तिक २३ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

यस्तै बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर २ सिल्लेगडाबाट कफलकोटतर्फ गईरहेको ग १ ज ५१९२ नम्बरको जिप दुर्घटनामा परी मत्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा नं २ कफलकोटका ३३ वर्षीय बीरबहादुर कुँवर रहेका छन् । यस्तै दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटका जिप चालक दीपक चन्द समान्य घाइते भएका छन् ।

यस्तै बर्दियामा ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिकाको मैनापोखरबाट पचासातर्फ आउँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको भे १ त ५०९९ नम्बरको ट्याक्टरले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जनाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय अर्जुन रिमाल र उनकी पत्नी २३ वर्षीया ललिता रिमाल हेका छन् । काठ बोकेर तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा उक्त घटना भएको स्थानीयले बताएका छन् । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्