जुटखेती घट्यो, उद्योगहरु समस्यामा



विराटनगर, कार्तिक २४। सरकारले जुटबालीलाई प्रोत्साहन नगर्दा जुटखेती खुम्चँदै गएको छ । जुटखेती घट्दै गएपछि यसको आयात पनि बढ्दै गएको छ ।

१५ ओटा बालीलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानलाई मल, बीउ, औजार र प्रविधिमा अनुदान दिएर ती बालीको उत्पादन बढाउन लागेको छ । तर, झापा मोरङ र सुनसरीमा उत्पादन हुने जुटबालीलाई भने १५ ओटा बालीभित्र समेटिएको छैन ।

प्रदेश सरकारले जुटका लागि २ वर्षसम्म ब्लक सञ्चालन गर्न बजेट विनियोजन गरे पनि यो आर्थिक वर्षबाट त्यो शीर्षकमा बजेट विनियोजन बन्द गरेको छ । संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पनि पर्न नसक्नु र प्रदेश सरकारले पनि बजेटमा जुटबालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नसक्दा कच्चा जुटमा परनिर्भता बढ्दै गएको छ ।

दुई दशक अघिसम्म ५६ हजार हेक्टरमा हुँदै आएको जुटखेती अहिले ११ हजार हेक्टरमा सीमित भएको छ । पहिले ८० हजार मेट्रिक टन जुट नेपालमा नै उत्पादन हुँदै आएकोमा अहिले २० हजार मेट्रिक टनमा झरेको छ । जुटको उत्पादन घट्दा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका पाँचओटा जुट उद्योग कच्चा जुटका लागि भारतसँग निर्भर रहनु परेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्