खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्न खोज्ने आठ जना पक्राउ



काठमाडौं, मङ्सिर १२ । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंमा आठ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो करिब ४ बजे छापा मारेको थियो ।

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा करिब ५६७ किलो बाख्रीको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले बा ५६७० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीमा मासु लोड भइरहेको अवस्थामा उनीहरूलाई फेला पारेको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकका २५ वर्षीय दिनेश महत रहेका छन् ।

पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्