चाँदीको आयात पनि घट्यो



काठमाडौं,कात्तिक २४ । मूल्य बढ्दा र कारोबार नहुँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सुनसँगै चाँदीको आयात पनि घटेको छ । समीक्षा अवधिमा चाँदीको आयात ८३ दशमलव ५० प्रतिशतले घटेको छ । व्यापारी तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आवको प्रथम त्रैमासमा रू. २ अर्ब ९९ करोड ३४ लाखको चाँदीको आयात भएको थियो । तर, चालू आवको यसै अवधिमा भने रू. ४९ करोड ४७ लाखको चाँदी आयात भएको छ । नेपालमा सामान्य अवस्थामा मासिक रू. १ अर्ब ३४ करोडको चाँदी आयात हुने गरेकोमा अहिले ३ महीनामा पनि सो बराबरको चाँदीको आयात भएको छैन ।

गत आवमा चाँदीको मूल्य बढे पनि कारोबारमा कुनै असर पुगेकोे थिएन । चाँदीको व्यवसाय उत्साहजनक नै थियो । तर, चालू आवमा चाँदीको कारोबार सन्तोषजनक नभएको व्यवसायीहरू बताउँछन् । फलस्वरूप चालू आवमा चाँदीको आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । ‘दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर चाँदी ल्याएका थियौं । तर, अपेक्षा गरेअनुसार चाँदी खपत भएको छैन,’ उनले भने ।

नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीपछि अर्थात् चैतदेखि गत साउनसम्म चाँदीको आयात नै गरिएको थिएन । साउन लागेपछि मात्र चाँदीको आयात गरिएको व्यवसायी बताउँछन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्