बन्दाबन्दीमा वैदेशिक लगानी ८ अर्ब ३७ करोड



काठमाडौं, कार्तिक २५। बन्दाबन्दीको समयमा नेपालमा वैदेशिक लगानीका परियोजना दर्ता हुने क्रम निरन्तर चलिरहेको छ । चैत ११ गतेदेखि साउनको ५ गतेसम्म जारी बन्दाबन्दीको बीचमा नेपालमा स्थानीय एजेन्टमार्फत विभिन्न ५ देशका लगानीकर्ताले ५२ ओटा प्रोजेक्ट उद्योग विभागमा दर्ता गराएका छन् । यद्यपि यो आर्थिक वर्ष २०७५र७६ को भन्दा कम हो ।

विभागका अनुसार बन्दाबन्दीको यो अवधिमा चीन, भारत, सिंगापुर, मलेशिया, नेदरल्यान्डका परियोजनाको कुल लगानी रू। ८ अर्ब ३७ करोड रहेको छ । सरकारले चैतदेखि जारी गरेको बन्दाबन्दी साउन ६ गते मध्यरातबाट खुला गरेको थियो । यस अवधिमा कर्मचारीहरू आलोपालो गरी विभागका कामहरू सुचारू गरिएकाले ती देशका लगानीकर्ता नेपालमा नआए पनि नेपाली एजेन्टले परियोजना दर्ता गरेको विभागका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए ।

‘अनलाइन र भौतिक रूपमै उपस्थिति भएर उद्योगमा परियोजनाहरू दर्ता गर्न सकिन्छ,’ उनले भने, ‘विदेशी लगानीकर्ताको हकमा उनीहरूले नेपाली स्थानीय एजेन्टलाई अख्तियारी दिएका हुन्छन् र उनीहरूमार्फत नै बन्दाबन्दीको अवधिमा पनि परियोजना दर्ता गराएका हुन् ।’ यस अवधिमा दर्ता भएकामध्ये चिनियाँ लगानीका परियोजनाहरू उल्लेख्य मात्रामा दर्ता भएका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्