सञ्‍चारमन्त्रीको आव्हान, ‘मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौं’



काठमाडौं कात्तिक २५ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।

मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा मंगलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री गुरुङले सो धारणा राखेका हुन् । उनले भने, “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।”

भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगत्ले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालीमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्