अर्मेनिया र अजरबैजानबीच जारी संघर्ष अन्त्य गर्ने सहमति



एजेन्सी कात्तिक २५ ।

अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि सम्झौता भएको छ ।

६ हप्ता लामो सैन्य संघर्षपछि यो सम्झौता भएको हो । सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो–काराबाखका केही क्षेत्र आफूले नै राख्ने छ । त्यस्तै आगामी केही हप्ताभित्र अर्मेनिया त्यस क्षेत्रका केही भागबाट पछि हट्ने छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको अनलाइन कुराकानीमा त्रिपक्षीय सम्झौता द्वन्द्व व्यवस्थापनका लागि महत्वपूर्ण भएको बताउनुभएको छ ।

राष्ट्रपति अलियेभले सम्झौताले ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै अर्मेनियाले नचाहँदा नचाहँदै पनि सम्झौतामा हस्ताक्षर गर्न राजी भएको बताए । अर्मेनियाली मूलकै बासिन्दाका बसोबास रहेको नागोर्नो–काराबाख आधिकारिक रुपमा अजरबैजानको हिस्सा भए पनि १९९४ को युद्धपछि अर्मेनियाको कब्जामा छ ।

४ हजार ४ सय वर्गकिलोमिटर रहेको यो क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा अजरबैजानकै हिस्साका रुपमा मान्यता प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्