नवलपुर बन्यो गण्डकी प्रदेशस्तरीय यु–१९ क्रिकेटको च्याम्पियन
कास्की,कात्तिक १ । गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यु–१९’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ। पोखरा क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा कास्कीलाई डकवर्थ लुइस स्टर्न (डीएलएस) पद्धतिमा ७१ रनले पराजित गर्दै नवलपुर च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले ४४ ओभरको चौथो बलमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो। नवलपुरका समिर रोकाले सर्वाधिक ४९ रन बनाए भने समिर न्यौपानेले ३९, पङ्कज यादवले २७, दिप्सन भूर्तेलले २४ र रजत भूर्तेलले २३ रनको योगदान दिए। कास्कीका अनिष राउतले चार विकेट लिए।
जवाफमा २०२ रनको लक्ष्य पछ्याएको कास्कीले वर्षाका कारण खेल अवरुद्ध भएपछि डीएलएस पद्धतिअनुसार २९ ओभरमा १७० रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। तर, कास्कीले २९ ओभरको तेस्रो बलमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। यससँगै नवलपुरले ७१ रनको जितसहित उपाधि उचाल्यो।
नवलपुरको जितमा सुशील भुसालले उत्कृष्ट बलिङ गर्दै महत्वपूर्ण भूमिका खेले। उनले सात ओभरमा ११ रन खर्चेर चार विकेट लिए। भुसाल फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए।
कास्कीका सुरज अधिकारीले सर्वाधिक २४ रन बनाए भने अनिष राउतले २३ र सम्राट अधिकारीले २१ रन जोडे।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका आठ जिल्लाको सहभागिता रहेको सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’मा स्याङ्जा, पर्वत र नवलपुर तथा समूह ‘बी’मा कास्की, बागलुङ र तनहुँ रहेका थिए।

