सुनकोशी नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता



सिन्धुली,कात्तिक १। काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटासुमो आज बिहान सिन्धुलीस्थित सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित चार जनाको उद्धार गरिएको छ।

रत्नावतीस्थित प्रहरी चौकीका अनुसार को १ ज २९७६ नम्बरको टाटासुमो बिहान २:३० बजे फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो।

प्रहरीका अनुसार दुर्घटनास्थलमा तीन महिलाको शव फेला परेको छ। चालकको भनाइअनुसार दुर्घटनामा परेका अन्य तीन जना अझै बेपत्ता छन्। उद्धार गरिएका चार जनालाई उपचारका लागि उदयपुरस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा पठाइएको छ।

उपचाररत हुनेमा ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ निवासी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र दिक्तेल नगरपालिका–१ निवासी १३ वर्षीय अंकित विक रहेका छन्।

प्रहरीका अनुसार चालक विष्ट बेहोस अवस्थामा रहेका छन् भने सम्झना राईको अवस्था गम्भीर छ। शिवानी राई र अंकित विकको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको भए पनि उनीहरू बोल्न सक्ने अवस्थामा छन्।

दुर्घटनाको कारण तथा मृतक र बेपत्ताहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्