ह्वाइट हाउस छोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत



एजेन्सी मंसिर १२ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले गएको ३ नोभेम्बरमा भएको मतदानमा आफ्नो हार स्वीकार गर्न मानेका थिएनन् र पत्रकारहरुसँग भने, ‘यो स्वीकार गर्न कठिन हुनेछ । उनले एकपटक फेरि मतदानमा धाँधली भएको निराधार दाबीलाई दोहोर्याएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव गर्न अपनाइने पद्धतिअनुसार बाइडेनले अहिलेसम्म ३०६ र ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । जितको लागि २७० मत आवश्यक हुन्छ । कुल मतको आधारमा पनि बाइडेन ६० लाख मतले अघि छन् ।

इलेक्टरल कलेज मतमा अन्तिम घोषणा गर्नको लागि आउँदो महिना बैठक हुनेछ । आउँदो १४ डिसेम्बरमा अमेरिकी इलेक्टरल कलेजले बाइडेनको जितको पुष्टि गर्नेछ । इलेक्टरलको पुष्टिपछि जो बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन् । राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले चुनावलाई लिएर कैयौँ मुद्दा दर्ता गराएका छन् तर तीमध्ये धेरैजसो मुद्दा खारेज भइसकेको छ ।

यो हप्ताको सुरुवातमा ट्रम्पले अनिश्चितताको कैयौँ हप्तापछि अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनको टिमलाई औपचारिक रुपमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न अनुमति दिन सहमति जनाएका थिए । यसको अर्थ २० जनवरीमा शपथ ग्रहण गर्न गइरहेका बाइडेन अब शीर्षस्तरमा सुरक्षा अधिकारीहरुसँग जानकारी लिन सक्नेछन् र प्रमुख सरकारी अधिकारीहरु र लाखौँ डलरको कोषको मामिलामा पनि उनको पहुँच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्