शिवपुरीको समुन्द्रादेवी मन्दिरमा थपलियाको कृति विमोचन, मन्दिर व्यवस्थापनका लागि २० हजार सहयोग
नुवाकोट,कात्तिक १— नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित समुन्द्रादेवी मन्दिरमा लेखक यानुकिराज थपलियाद्वारा लिखित ‘शिवपुरी गाउँपालिका : एउटा ऐतिहासिक मन्दिर, संस्कृति र विद्यालयहरू’ कृतिको विमोचन गरिएको छ।
समाजसेवी तथा शिवपुरी यातायात प्रालिका अध्यक्ष प्रल्हाद थापा, वडा नं. ६ का अध्यक्ष विष्णु श्रेष्ठ, समाजसेवी जितेन्द्र बिष्टलगायतको विशेष उपस्थितिमा कृति विमोचन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रल्हाद थापाले समुन्द्रादेवी मन्दिरको व्यवस्थापन तथा स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले मन्दिरका लागि आवश्यक सामग्री खरिद गर्न व्यवस्थापन समितिलाई तत्काल २० हजार रुपैयाँ सहयोगसमेत प्रदान गरे।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन आवतजावत गर्ने बाटोको सुधारमा पनि ध्यान दिनुपर्ने उनले बताए।
कार्यक्रममा वडा अध्यक्ष विष्णु श्रेष्ठ, समाजसेवी जितेन्द्र बिष्ट र शिवपुरी समुन्द्रादेवी सांस्कृतिक समूहका सचिव विष्णु खड्कालगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए।
शिवपुरी गाउँपालिका–८ काफलडाँडाका लेखक थपलियाले कृतिमा समेटिएका कविताबारे उपस्थित व्यक्तिहरूको प्रतिक्रिया माग्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए।
समुन्द्रादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनकराज थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

