अफगानिस्तानमा बम विस्फोट, १५ बालबालिकाको मृत्यु, २० जना घाइते



एजेन्सी पुस ४ ।

अफगानिस्तानको पूर्वी प्रान्त गजनीस्थित गिलान जिल्लामा बम विस्फोटका कारण १५ बालबालिका मारिएका छन् । अरु २० जना घाइते छन् ।

प्रहरीले उक्त घटनाको आरोप तालिबानी सशस्त्र समूहलाई लगाएको छ । तालिबानीले भने यो घटना आफूहरुले गराएको नभएर दुर्घटनावश भएको हुनसक्ने जनाएको छ ।

यद्यपि कसरी विस्फोट भयो भन्ने यकिन भएको छैन । स्थानीय अधिकारीहरुका अनुसार कुरान बाचन भइरहेको एउटा घर नजिकै एकजना नवआगन्तुक व्यापारी पुगेपछि बालबालिकाहरु उनी निजकै झुम्मिएका थिए । सोही क्रममा विस्फोट भएको बताइएको छ ।

गजनी प्रान्तको गभर्नर कार्यालयका अनुसार विस्फोट हुनुअघि ती व्यापारीलाई बालबालिकाहरु जम्मा भएर केही सामान बेच्न खोजिरहेका थिए । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

अफगानिस्तानमा विद्रोही तालिबानी र सरकारबीच वार्ता भए पनि यो प्रक्रिया सम्पन्न भइसकेको छैन । २० वर्षदेखि युद्धरत समूहसँग यसअघि पनि चरणवद्ध वार्ता भएको छ । तर दुबै पक्षबाट सम्झौता पालना भएको छैन ।

प्रतिक्रिया दिनुहोस्