महाअष्टमीमा शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौं,कात्तिक । नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा आज काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
महाअष्टमीका दिन काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखाको चण्डेश्वरीलगायत शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो । पर्वका अवसरमा शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ ।
त्यसैगरी, दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी र निङ्लाशैनी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा पूजा–आराधना गरी दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । महाअष्टमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ । नवरात्रका नौ दिनसम्म श्रद्धा र भक्तिपूर्वक देवीको साधना गरेमा मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ ।

