नुवाकोटकी सन्तमायाले जितिन् १० लाख रुपैयाँको बम्पर उपहार
काठमाडौं,कात्तिक १ । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएलगत्तै कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए।
सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङले कलाकारद्वयले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको बताएपछि आफूले उपहार जितेको विश्वास गरेकी थिइन्।
आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममा बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। असोज १६ देखि ३१ गतेसम्म प्रत्येक दिन एक जनाका दरले छनोट भएका विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दैनिक उपहारको घोषित राशि १ लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा १ लाख रुपैयाँ जम्मा हुनेछ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताए।
उनका अनुसार असोज १६ देखि ३१ गतेसम्म २ लाख ७५ हजार ८८४ कारोबारका बिल प्रविष्ट गरी कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा उपहार छनोट प्रक्रियामा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार समावेश भएका थिए।
विभागले बम्पर तथा दैनिक उपहारका सबै विजेतालाई आगामी कात्तिक १५ गतेभित्र पुरस्कार दाबी गर्न आग्रह गरेको छ। पुरस्कार प्राप्त गर्न विजेताले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा उपस्थित हुनुपर्ने विभागले जनाएको छ।

