रोजेको केटासँग विवाह नगरेको भन्दै बहिनीको हत्या



खोटाङ,पुष ८ । जिल्लामा आफूले रोजेको केटासँग विवाह नगरेको भन्दै एक दाज्युले बहिनीको हत्या गरेको छ । जिल्लाको साकेला गाउँपालिका- १ की २६ वर्षीया सकुन्तला राईले परिवारको इच्छा विपरीत प्रेम विवाह गरेको भन्दै उनकै ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनीको हत्या गरेका हुन् ।

यसअघि पटक-पटक आफूले रोजेको केटासँग विवाह गर्न बहिनीलाई आग्रह गरेको तर बहिनीले अर्कै केटासँग प्रेम विवाह गरेको कारण सकुन्तलाको हत्या भएको प्रारम्भिक घटनाक्रमले पुष्टि गरेको छ । सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ९ निर्मलडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् ।

विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनीको हत्या गरेको बुझिएको छ । हत्या हुुनुुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए ।

सकुन्तलाका श्रीमान दिनेशका अनुसार घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जंगलमा हत्या गरि फालिएको अवस्थामा फेला परेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्