नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु



नुवाकोट,कात्तिक २३ । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

भैरमकोटबाट कोलनीतर्फ आउँदै गरेको बा.९९ प. ८२०२ नम्बरको पल्सर मोटरसाइकल आज बिहान करिब १०ः५५ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालकसहित सवार तीन जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाइएकोमा चिकित्सकले दिउँसो १२ः१० बजे मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगर रहेका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्