उखु किसानले अंझै भुक्तानी पाएनन्, आन्दोलन जारी



काठमाडौं पुस ८ ।
उखु किसानले रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन थाले बुधबार ११ दिन पुगेको छ ।

उखु बेचेको रकम भुक्तानीको माग गर्दै किसानले बुधबार हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । गएको मङ्सिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाण्डौ आएर सङ्घर्ष गरिरहेका किसानले उखुको पैसा हात नपरेसम्म काठमाण्डौ नछाड्ने अडान लिएका छन् ।

आफूहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको किसानको भनाइ छ तर उद्योगी र सरकारले भने धेरै रकम भुक्तानी भइसकेको र अब ४५ करोड रुपैयाँको हाराहारीमा मात्रै भुक्तानी बाँकी रहेको दाबी गर्दै आएका छन् ।

सरकारले गएको वर्षको माघ ७ गतेभित्र नै उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालकबीच सम्झौता गराएको थियो । तर एक वर्षसम्म पनि किसानले भुक्तानी नपाएपछि किसानहरू फेरि आन्दोलन गर्न बाध्य भएका हुन् ।

किसानहरूले सरकारसँग पटक–पटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्