कुटपिटमा मारिएका रामको परिवारलाई १० लाख दिने निर्णय



सर्लाही पुस ९ । सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई १० लाख आर्थिक सहायता दिने निर्णय गरेको बताए । गत असोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबीसहित मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्तिस्वरूप मृतकका परिवारलाई १० लाख उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो ।

कांग्रेसका नेता तथा कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जनभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्