प्रदेश लिगका बाँकी खेल सञ्चालन माघबाट गर्ने एन्फाको तयारी



काठमाडौं पुस १० ।
अखिल नेपाल फुटबल संघ एन्फाले प्रदेश लिगका बाँकी खेल सञ्चालन माघको पहिलो साताबाट गर्ने तयारी गरेको छ ।

कोरोनाका कारण गत वर्ष स्थगित भएका प्रदेश लिगका बाँकी खेल एन्फाले माघको पहिलो साताबाट सुरु गर्ने तयारी गरेको हो । प्रदेश नम्बर दुई, बागमती प्रदेश र सुदुपश्चिमको प्रदेश लिग माघको पहिलो साता सञ्चालन गर्ने एन्फाले निर्णय गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको एन्फा पदाधिकारी र प्रदेशका प्रतिनिधि बीचको छलफलमा स्थगित बनेको प्रदेश लिग सञ्चालन गर्ने सहमती भएको हो ।

सहमती अनुसार प्रदेश फुटबल संघले लिग सञ्चालनको विस्तृत विवरण एक हप्ताभित्र एन्फामा पठाउनेछन् । एन्फाले प्रदेश नम्बर १, ४ र ५ को लिग सम्पन्न गरेपनि प्रदेश नम्बर २, ३, ६ र ७ को लिग सञ्चालन गर्न बाँकी छ ।

प्रदेश लिगका च्याम्पियनलाई समावेश गर्दै एन्फाले एन्फा प्रेसिडेन्ट लिग समेत गराउने तयारी गरेको छ । एन्फा प्रेसिडेन्टका शीर्ष क्लबलाई अर्को वर्ष हुने ए डिभिजन लिगमा समावेश गर्ने एन्फाको योजना छ ।

शुक्रबार भएको छलफलमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव ईन्द्रमान तुलाधर, खेल निर्देशक सञ्जिव मिश्र र प्रदेशका अधिकारी सहभागी बनेका थिए । एन्फाले यसअघिनै गत वर्ष स्थगित बनेको बी, सी र महिला लिग सञ्चालन गर्ने निर्णय गरिसकेको छ । एन्फाले कोरोनाले गत वर्ष पुरा हुन नसकेका एन्फाका कार्यक्रम यस वर्ष पुरा गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्