रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु



रसुवा पुस ११ ।

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सुरु भएको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम थालेको हो ।

मैलुङ–स्याफ्रु सडकखण्डमा १२ वटा पुल निर्माण हुनेछ । जसमा ४ वटा पुलको निर्माण कार्य सुरु भएको छ । बाँकी ८ वटाको डिजाइन सर्वेको काम भइरहेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए।

मैलुङदेखि स्याफ्रुबेसीको दूरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ स्याफ्रु सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो । यो सडक बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्