वाग्मतीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाही



काठमाडौं पुस ११ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई दण्ड जरिवाना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन्।

मनोहरा दोभानबाट आलोकनगरसम्म फोहर फाल्ने राजकुमार शर्मा रु एक हजार, मीना केसी रु पाँच हजार, बेखालाल तण्डुकार रु एक हजार, दीपेन्द्र बस्नेत रु पाँच हजार, रत्नकाजी श्रेष्ठ रु पाँच हजार, सुमन इन्टरप्राइजेज रु पाँच हजार, कुकुर क्याफे रु एक हजार गरी जम्मा रु २३ हजार जरिवाना गरिएको छ ।जरिवाना गरिएको रकम महानगरपालिका वातावरण व्यवस्थापन विभागलाई हस्तान्तरण गरिएको सफाइ महाअभियानले जनाएको छ ।

प्रमुख अभियानकर्मी, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धब तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको सक्रियतामा ३९८औँ हप्तामा वाग्मती मनोहरा दोभान आर्ट अफ लिभिङले बनाएको बगैँचाअघिको शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

सशस्त्र प्रहरी टोली, अभियानकर्मीलगायतले १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।शनिबार बिहान ८ः०० बजे ३९९औँ हप्ताको सफाइ बानेश्वर क्याम्पसअघिको नदी किनारमा सफाइ गरिने जनाइएको छ ।

जनचेतनामूलक कार्यक्रमसँगै नदीको फोहरसमेत उठाएर वाग्मती नदी तिलगङ्गा खण्ड सफाइको २७९औँ हप्तामा महिला समूह र बतास फाउन्डेशनले यस क्षेत्रमा सफाइ गरेका छन् । मनोहरा सफाइको १९७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी–मनोहरा कृषि बजारअघि सफाइ गरिएको छ ।

यसैगरी राजधानीका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, उत्तर र पश्चिम क्षेत्रको चक्रपथलगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर १०६ स्थानमा सफाइ अभियान शुरु भएको छ ।

कोरोना महामारीका कारण नदी किनारमा निवास भएका अभियानकर्मीले नदीमा गएर र अरुले टोल सफाइ अभियानलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्