प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी र एपिएफको विजयी शुरुवात



दाङ पुस ११ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् ।

शनिबार दाङ्गको लमहीमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ र एपीएफले कर्णाली प्रदेशलाई हराएको हो । पहिलो खेलमा लुम्बिनीले प्रदेश २ माथि ९ विकेटको फराकिलो जित निकाल्यो । ७७ रनको सामान्य लक्ष्य लुम्बिनीले १ विकेट गुमाएर २३ बल अगावै पुरा गर्यो ।

लुम्बिनीकी गिता गोसाईले अविजित २३ रन बनाईन् । नेरी थापा १५ रनमा अविजित रहिन् । सरस्वती घर्तिमगर २२ रनमा आउट भईन् । प्रदेश २ की कबिता गौतमले एक विकेट लिईन् । यसअघि पहिले ब्याटिङ्ग गरेको प्रदेश २ ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनायो ।

ओपनर अनुराधा चौधरी र साना प्रविनले समान २१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । विमला मगरले १० रन जोडिन् । प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीकी सुस्मिता भुसालले सर्वाधिक ३ विकेट लिईन् । सवातिका बजगाई, नेरी थापा र गिता गोसाईले समान एक एक विकेट हात पारे । सुस्मिता भुसाल प्लेयर अफ दी म्याच घोषित भईन् ।

समूह एकै अर्को खेलमा एपीएफले कर्णालीमाथि २ सय ४ रनको फराकिलो जित निकाल्यो । २ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको कणार्ली १४ ओभर १ बलमा ३१ रनमा समेटियो । कर्णालीका कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । कर्णालीले १५ रन अतिरिक्त पाएको थियो । बाँकी १६ रनमा पुरै टिमको योगदान रह्यो ।

कर्णालीलाई सस्तैमा समेट्न एपीएफकी करुणा भण्डारीले ५, राजमती ऐरीले २, सोनु खड्का र रेखा रावलले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको एपीएफले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । सिता राना मगरले ६८ रन बनाएको ईनिङ्समा सरिता मगर ४४ रनमा अविजित रहिन् । ज्योती पाण्डे ३२, ईन्दु वर्मा २२ र ममता चौधरी २ रनमा आउट भईन् ।

कर्णालीकी दिक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ्गले समान एक एक विकेट लिईन् । सर्वाधिक ६८ रन बनाएकी कप्तान सिता मगर प्लेयर अफ दी म्याच घोषित भईन् ।
समूह एको खेलमा एपीएफ र लुम्बिनीले जित निकाल्दै समान ३ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्