प्रधानमन्त्री ओलीको कदमविरुद्ध नागरिक समाज पनि सडकमा



काठमाडौं, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि उक्त कदमविरुद्ध सडक आन्दोलन केन्द्रित भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । ‘प्रतिगमन विरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानरमा शनिवार भएको प्रदर्शनमा सहभागीहरूले प्रतिनिधिसभा विघटनको विरोध गरे ।

प्रतिनिधिसभा पुनःस्थापना भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्दै जाने नागरिक अगुवाहरूले बताएका छन् । यस्तै उनीहरूले विद्यमान समस्याको समाधान संविधानभित्रैबाट खोज्न सुझाएका छन् । पुस १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने नागरिक आन्दोलनले जानकारी दिएको छ ।

आन्दोलनका कार्यक्रम अनुसार पुस १३ मा मा डम्फु एपिसोड, पुस १५ मा धिमे एपिसोड, पुस १७ मा च्याब्रुङ एपिसोड र पुस १८ मा सडक नाटकसहित सभा गरिने कार्यक्रम तय भएका छन् । माइतीघर मण्डलामा शनिवार आयोजित शंख एपिसोडमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन ल्याएको विरोधमा शंख बजाएर प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, प्राध्यापक बालकृष्ण माबुहाङ, लेखक तथा पत्रकार नारायण वाग्ले लगायतले प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका थिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्