विदेशमा पनि लोकप्रिय टोखाको चाकु



काठमाडौं, पुस १२ । यतिबेला टोखा नगरपालिकाका परम्परागत बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यतिबेला सबैलाई लोभ्याउने गरेको छ ।

देशभित्र मात्र होइन, टोखाको मौलिक उत्पादन चाकुले देश बाहिरसमेत मौलिक पहिचान दिँदै छ । पोषिलो चाकुलगायतका मिठाइ बनाएर अन्नसँग साट्ने परम्परादेखि नै त्यस स्थानमा चाकु बनाउने चलन पुर्खाले चलाएको स्थानीय ७५ वर्षीय चाकु व्यवसायी काशीलाल श्रेष्ठ बताउन्छन् ।

टोखाको पहिचान चाकुको परिकार बनाउने उनको पुख्र्यौली व्यवसाय पुस्तान्तरण हुँदै पाँचौँ पुस्तासम्म आउँदा यसको चर्चा र खपतको दायरा उत्तिकै फराकिलो भएको छ । टोखावासीले लामो समयदेखि चाकुको व्यवसायलाई निरन्तरता दिएका छन् । यहाँको मौलिक परिकार चाकुले शरीरलाई भित्रैदेखि न्यानो राख्न मद्दत पु¥याउँछ । चाकुले परिकारको महत्व दिन प्रतिदिन बढेको चाकु व्यवसायीको भनाइ छ । जाडो मौसममा शरीरलाई तापको आवश्यकता पर्छ ।

हिटर, एसी, आगो, बाक्लो कपडाको माध्यमबाट शरीरलाई बाहिरी रूपमा तताउन सम्भव छ तर शरीरलाई भित्रैदेखि तातो राख्न र रोग प्रतिरोधात्मक शक्ति बढाउन परम्परागत चाकुलगायतका परिकारको प्रयोग हुँदै आएको छ । विशेषगरी माघे सङ्क्रान्तिको दिन उसिनेको सखरखण्ड, पिँडालु, घिउ, चाकु खाने परम्परा नेपालीको हरेक घरमा छ । हाल चाकुको विभिन्न परिकार अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुन्छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्