निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय



काठमाडौं पुस १२ ।

सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो ।

यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आजसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चमात्र सोधभर्ना गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै अब कोरोना सङ्क्रमितको उपचार सरकारी अस्पताल तथा मेडिकल कलेजहरूबाट मात्र हुने छ ।

यस्तै मन्त्रालयले सरकारी तहबाट सङ्कलन भएका नमुनाको पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई उपलब्ध गराउने काम पनि बन्द गरेको छ । मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले बेलायतलगायत विभिन्न देशबाट फर्किएका दुई सय ७७ जनाको पीसीआर परीक्षण गरी कोरोना पुष्टि भएमा जीन सिक्वेन्सिङ पनि गर्ने निर्णय गरेको छ ।

बेलायतलगायतका विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि त्यस्ता देशबाट नेपाल आएकाहरूमा पनि कोरोनाको नयाँ प्रकार हुन सक्ने भएकोले परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्