भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि



नयाँदिल्ली,पुष १५ । भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि भएको छ। ती संक्रमित बेलायतबाट फर्किएको बुझिएको छ ।

अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको निकट सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ । भारतले बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायतबाट आउने सबै उडानमा रोक लगाएको छ । तर, नोभेम्बरको अन्तिम यता प्रतिबन्ध लाग्नुपूर्व बेलायतबाट भारतमा ३३ हजार यात्रुहरु आएका थिए ।

बेलायतबाट आएकामध्ये ११४ जनामा कोरोना संक्रमण देखिएको थियो ।  संक्रमण देखिएका मानिसहरुको नमुनामा नयाँ भेरियन्टको पहिचान गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नयाँ भेरियन्ट देखिएसँगै सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भारतले जनवरीबाट मुलुकमा कोरोना खोप कार्यक्रम सुरु गर्ने योजना तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्