प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट गण्डकीको लज्जास्पद हार, ९ खेलाडी शुन्यमा आउट



दाङ पुस १६ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ ।

बिहिबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकीलाई १ सय ४० रनले पराजित गरेको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ७ रनमै अलआउट बन्यो । ८ ओभर टिकेको गण्डकीका ९ खेलाडी शुन्य रनमै आउट भए ।

गण्डकीका कुशुम गोदार र सोनिया थापाले मात्र समान २ रन बनाए । गण्डकीले ३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर १ की संगिता राईले ५, सबनम राईले ४ र अपसरी बेगले १ विकेट हात पारिन् ।

सुरुवाती ब्याटिङ्ग गरेको प्रदेश नम्बर १ ले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनायो । ओपनर काजल श्रेष्ठ र रोमा थापाले अधशतकीय ईनिङ्स खेले । रुबिना क्षेत्रीले १५ रनको योगदान दिईन् । प्रदेश १ ले २९ रन अतिरिक्त प्राप्त गरेको थियो ।

गण्डकीकी कुशुम गोदारले १ विकेट लिईन् । जित सहित प्रदेश १ समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गर्यो । समूहकै अर्को खेलमा बागमतीलाई पराजित गर्दै सुदुरपश्चिम समेत अन्तिम ४ मा प्रवेश गरेको छ ।

फाईनल प्रवेशका लागि अब समुह बीको समुह विजेता प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश र सुदुरपश्चिमले समुह एको विजेता एपीएफसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्