काठमाडौंको मैतिदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने ५ जना पक्राउ



काठमाडौं पुस १७ ।

काठमाडौंको मैतिदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यही पुस १५ गते दिउँसो मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद एक लाख ६६ हजार नौ सय १५ र सहकारीका अन्य कागजात तथा चेकबुक सो समूहले खुकुरी प्रहार गरी लुटपाट गरेको थियो।

चाबहिल स्थित ए वान क्याफे नजिक पुग्दा सो समूहले गजमेरलाई खुकुरीले प्रहार गरि घाइते बनाएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।

खोजतलासका क्रममा लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पीडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं असन बस्ने रोहन नेपाली शाही, थानकोट बस्ने भय तुलाधर, , जुम्लाको सिंजा घर भई बसुन्धरा बस्ने हरि शर्मा, चक्रपथ बस्ने अमित तुलाधर र सोही स्थानका रोहित शाही रहेका छन्।

उनिहरुले यसअघि उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरि चलिरहेको गाडिबाट बिभिन्न सरसामानहरु जस्तै चुरोट, कपडा, टीभी तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक– पटक चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ। उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्