यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरु



काठमाडौ,पुष १८ । सरकारले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने अमेरिकि डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कर्णाली क्षेत्रका केही जिल्लामा सञ्चालनमा रहेको बाल पोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलबस्तु गरी ११ जिल्लामा थप गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदको बैठकले सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ । बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन (तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।

मन्त्रिपरिषद् बैठकले संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्