नुवाकोटको कुण्डलादेवी मन्दिरमा मेला सुरु



मन्दिर परिसरमा पुजा आराधनाका क्रममा भक्तजन

प्रकाश लामा

नुवाकोट, पुष १९ । नुवाकोटको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमाना रहेको कुण्डलादेवी मन्दिरमा मेला सुरु भएको छ। आइतबार साँझदेखि सुरु भएको मेलामा सोमबार बिहान पञ्चबलीसहित पुजाआजासंगै मध्याह्न मेला समापन हुने स्थानीय अगुवा युवा रघुबीर तामाङले बताए ।

हरेक वर्ष मंसिर पुर्णिामा लगत्तै पर्ने कृष्ण चतुर्थीका दिन लाग्ने मेलामा स्थानीयको बाक्लो उपस्थिति रहेको छ। महाभुकम्प पश्चात् मन्दिर परिसर भासिएपछि मन्दिर सतहसम्म मिलाउन पिल्लर तथा ढलान गरिएसंगै व्रतालु तथा दर्शनार्थीलाई सहज भएको निर्माण समितिका अध्यक्ष समेत रहेका अगुवा युवा रघुबीर तामाङ बताउँछन्।अध्यक्ष तामाङका अनुसार पञ्चकन्या गाउँपालिकाबाट प्राप्त  २ लाख रकम र शिवपुरी गाउँपालिकाको १ लाख रकमले ढलान कार्य सम्पन्न भएको हो । त्यस्तै रेलिङ ब्यवस्थापनका लागि पञ्चकन्या गाउँपालिकाले हालै १ लाख १५ हजार खर्चिएको थियो ।

मन्दिर ढलान कार्यसंगै यस मन्दिरको थप शोभा समेत बढेको स्थानीयको भनाइ छ । जिर्ण अवस्थामा रहेको मन्दिरमा पिल्लर तथा ढलान कार्य सकिए पनि भक्तजनको सुरक्षार्थ रेलिङ निर्माणसंगै थप सहज भएको बताइएको छ।

गाउँकी देवीको रुपमा समेत परिचित कुण्डलादेवी मन्दिरको मेला बनपाले जात्राका रुपमा समेत परिचित रहेको छ। यस मेलामा श्रद्दालु भक्तजनहरु नुवाकोटको शिवपुरी,पञ्चकन्या र काठमाडौदेखि समेत आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्