हेलिकप्टरबाट उद्धार गरिएका डोल्पाका कोरोना संक्रमितको मृत्यु



काठमाडौं पुस १९ ।

हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका,५ स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो ।

डोल्पाको सरस्वती माध्यामिक विद्यालयमा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।

डोल्पाको दुनैमा स्वाब संकलन गरी पुस १४ गते कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिएका छन् ।

अधिकृत कँडेलका अनुसार सोही दिनदेखि होम आइसोलेसनमा रहेको ती शिक्षक पुस १६ गते टाउको दुख्ने, वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना भएका थिए ।

१७ गते बिहान बेहोश भएपछि उनलाई काठमाडौं लगिएको थियो । उनको शनिबार दिउँसो मृत्यु भएको महाशाखाले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा उनको मृत्यु भएको महाशाखाले जनाएको छ ।

यससागै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्