पश्चिम नेपालमा हिमपात, देशभर बादल



काठमाडौं, पुस २१ । पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै सक्रिय भएको पश्चिमी वायुको प्रभाव आगामी बिहीबारबाट मात्रै हट्नेछ ।

सोमबार बिहान उपत्यकामा छिटफुट वर्षा भए पनि दिनभर घाम लाग्न सकेन । साँझ बाक्लु हुस्सु देखिँदा सवारी आवतजावतमै समस्या उत्पन्न भएको थियो । बाक्लो हुस्सुको कारण उपत्यकाको जनजीवन सोमबार प्रभावित बन्यो ।

आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र आगामी बिहीबारबाट खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

‘पश्चिमी वायु आउँदा यसले आकाश ढाकेर आउने भएकाले दिनभरिको तापक्रमलाई वायुमण्डलमा धेरै टाढा जान दिँदैन,’ उनले भनिन्, ‘त्यसैले सोमबार न्यूनतम तापक्रम बढेको हो ।’ उनले जनाईन् ।

मौसम बदलीका कारण काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । सोमबार साँझ काठमाडौं उपत्यकाको भिजिबिलिटी एक हजार मिटरको छ । जुन दिउँसो ३ हजार मिटर थियो । आइतबार भने भिजिबिलिटी ६ हजार मिटरको रहेको थियो । मौसम बदली भए पनि अहिले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । सोमबार जुम्लामा हिमपातसहित २४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

यसैगरी वीरेन्द्रनगर, सुर्खेतमा ११ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । धनगढीमा ९ दशमलव ७ मिलिमिटर वर्षा भयो भने दीपायलमा ६ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्