खेलकुद मन्त्री लामालाई खेलाडी संघको ध्यानाकर्षण



काठमाडौं पुस २२ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा बुधबार मन्त्रालय पुगेर संघले मन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको पत्रमा ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता रोकिएको र कार्यविधिमा कटौती नहुने गरी यथासम्भव उपलब्ध गराइनु पर्ने लगायत विभिन्न ६ बुँदागत मागहरु समेटिएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेप बाट प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता चालु आर्थिक वर्ष २०७७ ०७८ यता रोकिएको छ । जसको कारण गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागमा ५१ स्वर्ण जित्ने खेलाडीले प्रोत्साहन भत्ता पाएका छैनन् ।

यस्तै सागका रजत तथा कास्य पदक विजेता लागि समेत प्रोत्साहन भत्ताको बेर छलफल अघि बढाउनुपर्ने, नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पहल लिनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टोली र परिक्षण सुरु हुन बाँकी खेलको प्रशिक्षण सुरु गर्नका वातावरण तयार गरिनु पर्ने लगायतका माग रहेको छ ।

तर, संघले प्रोत्साहन भत्ता सुनिश्चिताका लागि कार्यविधिको मस्यौदा तयार गर्न मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको विषयलाई भने सकारात्मक पहलको रुपमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्