कोरोना महामारी थप फैलिदै गएपछि जापानमा सङ्कटकाल घोषणा



एजेन्सी पुस २३ ।

कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ ।

प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए । अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने जनाइएको छ । सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ ।

यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।
। टोकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले बार तथा रेस्टुरेन्टमा नजान प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गरेका छन् ।

सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन् ।

देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् । जापानमा अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्