रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा पुरस्कृत



काठमाडौं पुस २६ । रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा पुरस्कृत भएका छन् ।

उद्घोषण, नेतृत्व विकास, कार्यक्रम उत्पादन सम्बन्धि रेडियो तालिमका स्थापित प्रशिक्षक लामा यस वर्षको ‘पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरूङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका हुन् । तमु (गुरूङ) सञ्चारकर्मी संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्‍चारकर्मी लामासहितका पत्रकारहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले पुरस्कार प्रदान गरेका हुन् । लामाले २० हजार राशिको पुरस्कार पाए ।

करिब २५ वर्ष भन्दा बढी पत्रकारिता जगतमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का कोषाध्यक्ष हुन् । जर्नालिजम एण्ड मास कम्युनिकेसनमा स्नातकोत्तर हासिल गरेका उनी संवादअनलाइनका प्रधान सम्पादक छन् । यसअघि लामा संयुक्त राष्ट्रसंघको युएन रेडियो टिम र बीबीसी वर्ड्र सर्भिस ट्रष्टमा प्रोड्युसरका रूपमा आबद्ध थिए । उनले यसअघि प्रिया मासिक, रोहिणी साप्ताहिकको सम्पादकीय समूहसँग आबद्ध भइ काम गरेका छन् ।

उनी पूर्व मेचीदेखि पश्चिम महाकाली समेतका विभिन्न स्वतन्त्र रेडियोलाई प्रशिक्षण तथा सहजीकरण गर्दै हजारौं प्रसारक तथा पत्रकार उत्पादन गरिसकेका छन् । लामा वर्ल्ड कम्युनिकेशन काउन्सिल नेपालका सदस्य पनि हुन् ।

त्यस्तै, उनीसँगै सम्मानित हुनेहरुमा ‘सुश्री भद्राकुमारी घले’ पत्रकारिता पुरस्कार २०७७” बाट केशव गुरुङ, इण्डिजिनियस टेलिभिजनका अनिता गुरुङ,’पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट हाइलाइट्स टुरिजम अनलाइनका क्रियटिभ एडिटर अनिता गुरुङ, ‘तमू ल्होछार मूल आयोजक समिति तमू’ पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाका सिनियर उपसम्पादक दीपेन्द्र गुरुङ पुरस्कृत भएका छन् ।

यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’पत्रकारिता पुरस्कारबाट रेडियो अन्नपूर्णका प्राविधिक दिल गुरुङ, ‘लक्ष्मी गुरुङ’पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने चितवन पोष्टका तुलमान गुरुङ, ‘सिआइ टेकबहादुर तथा रसकुमारी गुरुङ’ पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाका गोरखा संवाददाता केशव गुरुङ पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्