कौसी खेतीमा मिनी टनेल



काठमाडौं,वैशाख १० । बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन पनि मासिँदै छ भने खेती गर्ने प्रचलन पनि साँघुरिँदै छ । तर, कोरोना भाइरसका कारण र त्यसपछिको बन्दाबन्दीमा घरका छत तथा कौसीमै भए पनि खेती गरौं र आफ्नो भान्सामा प्रयोग हुने तरकारीहरू आफैं फलाऔं भन्ने सोचले सहर बजारमा गति लिएजस्तो देखिएको छ । अहिले कहीँकतै घरधनी तथा उपभोक्ताले खेती गरेको देख्न पाइन्छ ।

कतिपय युवा उद्यमीहरूले कौसी खेतीलाई नै लक्षित गरी व्यवसाय सुरु गरेका छन् भने अर्काेतर्फ कौसी खेती तरकारीले गर्जाे टार्नेमा सहायक भूमिका वहन गर्दै छ । त्यसभन्दा पनि सहरको कोलाहल, कंक्रिटका भवनबीच छतमा हरियालीद्वारा मानिसलाई आराम तथा शान्त दिने माध्यम पनि बनेको छ । घरमै कुहिने वस्तुको उपयोग पनि सोही खेतीमा हुने गर्छ ।

बन्दाबन्दीपछि कौसी खेतीको प्रयोग बढेको देखिएको छ । घरधनी तथा उपभोक्ताले आफ्नै तरिकाले गमला, बोरामा माटो भरेर खेती गरेको देखिन्छ भने कतिपय कृषिका जानकार तथा उद्यमीसँग सल्लाह गरेर खेतीमा जोडिएका छन् ।

घरको छतमा सिजनअनुसार तथा अफ सिजन तरकारी पर्याप्त मात्रामा उत्पादन गर्न इच्छुक हुनुुहुन्छ भने तपाईंलाई मिनी टनेल उपयुक्त प्रविधि हुन सक्छ । कौसीबारी नै भनेर काम सुरु गरेको १ वर्ष भए पनि ५ जना कृषि उद्यमी, प्राविधिक तथा अध्ययनकर्ता मिलेर २०१७ सालमा अभियान एग्रो नामक कृषि बिजनेस कम्पनी स्थापना गरे ।

उनीहरूले हालै घरको छतमा मिनी टनेलको प्रयोगमार्फत प्रशस्त तरकारी फलाउन सकिने प्रविधिको विकास गरेका छन् । अभियान एग्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास पण्डित खासगरी बर्खायाम र चिसो सिजनमा खेती गर्न   मिनी टनेल उपयुक्त हुने बताउँछन् । ‘छतमा गरिने खेतीमा बर्खामा पानी र जाडो याममा शीतबाट जोगाउन यो प्रविधिको प्रयोगबाट तरकारी उत्पादन गर्न सकिन्छ,’ पण्डितले भने, ‘जसले अर्डर गर्नुहुन्छ, उहाँकहाँ सामान मात्रै नपु¥याएर, त्यसलाई चाहिने सबै सामग्री सेट गरिदिने र पछि फलोअप पनि गर्ने गरेका छौं ।’

सेटअप गरिदिँदा तरकारीको बिउ छर्ने, रोप्ने र पछि कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने सिकाउने गरेको उनी बताउँछन् । दुई वटा मोडलमा टनेल बनाएको भन्दै उनी भन्छन्, ‘एउटा चार फिट चौडाइ र १० फिट लम्बाइ छ, किनभने घरको छतको स्पेस नै कम हुने भएकाले टनेलभित्र भन्दा पनि वरिपरिबाटै गोडमेल, फलेको तरकारी टिप्न सक्ने गरी मोडल बनाइएको हो भने अर्काे ५ फिट चौडाइ र ६ फिट लम्बाइको छ ।’

चार फिट चौडाइ र १० फिटको मिनी टनेल सेटअप गर्दा २५ हजार खर्च हुन्छ भने ५ फिट चौडाइ र ६ फिट लम्बाइको टनेल राख्दा भने २० हजार रुपैयाँसम्म खर्च हुन्छ । यसमा मल, माटो, बिउ, थोपा सिँचाइ, त्रिपाललगायत आवश्यक सबै सामग्री हुने उनको भनाइ छ । नयाँ वर्ष अफरस्वरूप  कम्पनीले वैशाख १५ गतेसम्मका लागि दुवै खाले टनेल खरिद गर्दा ५ प्रतिशत छुट दिएको छ ।

२५ केजी मल, ४० केजी माटो, ५० लिटरको ड्रमलगायतका सामग्री दिने र सिजनअनुसारको बिउ सिफारिसका लागि सल्लाह  दिने गरेको उनले बताए । कौसी खेती गरेपछि बेलाबेला कम्पोस्ट मल राख्ने, गोडमेल गर्ने र केही रोग तथा किरा आए प्राविधिकको सल्लाह लिन आवश्यक छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्