एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज



काठमाडौं,बैशाख २० । पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१  ले जितेको हो ।

पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेस्ट इन्डिजले जितेको हो ।दोस्रो खेलमा १० रनले विजयी भएको वेस्ट इन्डिजले तेस्रो खेलमा ७६ रनको शानदार जित निकालेको थियो ।बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा  दुई सय ९ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाए । यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । 

चौथो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाएका हुन । उनले यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । 

शनिबार भएको पहिलो खेलमा उनले शतकीय इनिङ खेलेका थिए । उनले ५४ बल खेल्दै ११२ रन बनाएका थिए  । आइतबार भएको दोस्रो खेलमा नटआउट ७१ रन बनाएका पौडेललाई तेस्रो खेलमा भने आराम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्