कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ



वीरगञ्ज,वैशाख १०। भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आर्थिक अभियानलाई बताए । ‘खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढायो । नाकाबाट हुने आउजाउलाई निरुत्साहित गरिएको छ,’ उनले भने ।

अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ । पर्सामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगिसकेको जानकारी पौडेलले दिए ।

भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढेको निष्कर्ष प्रशासनको छ । मुख्य नाका वीरगञ्जमा दुईओटा हेल्थ डेस्क राखिएको छ ।

भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी पनि उनले दिए ।

यसैबीच, बिहीवार स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको पौडेलले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्