ज्येष्ठ नागरिकको कैद छुट सुविधापछि टोपबहादुर रायमाझी रिहा
काठमाडौं,कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा भएका छन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुट सुविधाअनुसार रायमाझी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
काठमाडौं जिल्ला अदालतको पत्राचारपछि कारागार प्रशासनले उनलाई रिहा गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले रायमाझीलाई चार वर्ष कैद सजाय सुनाएको थियो । ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा पाएपछि उनी सजाय पूरा हुनुअघि नै रिहा भएका हुन् ।

