निषेधाज्ञाले बदलिएको कारोबार : अनलाइन अर्डर गर्नुस्, घरमै पुग्छ चामल



सुर्खेत,जेठ ११ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन सेवा सुरु गरेको धेरै समय भए पनि निषेधाज्ञाको समय प्रभावकारी देखिएको छ ।

वीरेन्द्रनगरका अधिकांश परिवारले अनलाइनबाटै घरमा चामल खरिद गर्न थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

कोरोना महामारीबाट जोगिने र बजार मूल्यभन्दा सस्तोमा पाइने भएपछि अनलाइनबाटै चामल खरिद गर्ने ग्राहक बढेका छन् ।

‘कर्णाली प्रदेश मुकाम सुर्खेतको वीरेन्द्रनगर बजारमा कोरोना महामारीका कारण चार सातादेखि निषेधाज्ञा जारी छ । सबैलाई महामारीको त्रास छ । सोही  कारण अनलाइनबाट उपभोग्य वस्तु मगाउने क्रम बढेको छ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रादेशिक कार्यालय सुर्खेत प्रमुख माधव मिश्र भन्छन् ।

निषेधाज्ञाअघि थोरै ग्राहक थिए । अहिले ग्राहकको संख्या बढेको उनले सुनाए । मिश्रले भने, ‘आजभोलि दैनिक २–३ क्विन्टल अर्डर आउने गरेको छ भने दैनिक परिमाण पनि बढ्दै गएको छ ।’

कम्पनीले २५ केजीको जिरा मसिनो चामललाई १५५०, ३० केजीको सोना मन्सुलीलाई १४९० र २५ केजीको अरुवा मोटो चामललाई ११५० रुपैयाँमा बिक्री गर्दै आएको प्रमुख मिश्रले जानकारी दिए ।

मोबाइल प्रयोग गर्ने र सामान्य अंग्रेजी भाषा बुझ्ने सबैले सहजै अनलाइनबाट चामल अर्डर गर्न सक्ने मिश्रले बताए ।

अनलाइनबाट कसरी खरिद गर्ने चामल ?
अनलाइन सेवा लिन ब्राउजरमा गएर नेपालफुडको वेबसाइट खोलेपछि स्थान छनोट गर्ने अप्सन आउँछ । सुर्खेतका लागि हो भने त्यहाँ सुर्खेत क्लिक गर्ने । त्यसपछि आफूलाई चाहिएको चामल छनोट गर्न एडटुकार्ड गरेर चाहिएको परिणाम लेखेर अर्डर गर्न सकिने उनको भनाइ छ ।

अनलाइनबाटै भुक्तानी गर्दा आफूले प्रयोग गर्ने आईडी र पासवर्ड राखेर पैसा तिर्न सकिन्छ । बिल भुक्तानी गरेपछि संस्थानले फोन गर्छ र घरमै चामल पु¥याइदिन्छ । नियमित गरेपछि आफूले प्रयोग गर्ने इमेल आईडी र पासवर्ड राखेर रजिस्टर भने गर्नुपर्छ ।

रजिस्टर गर्दा आफ्नो नाम, इमेल आईडी, मोबाइल नम्बरपछि इमेलको पासवर्डलाई कन्फर्म गर्नुपर्छ । पुनः अर्डरमा केही गल्ती  भयो कि भनेर देखाउँछ । दोस्रो पटकमा पुनः आफ्नो मोबाइल नम्बर माग्छ, जुन मोबाइल नम्बर तपाईंको घरमा चामल पुर्‍याउन कर्मचारीले सम्पर्क गर्ने भनेर मागिएको हो ।

त्यसपछि आफ्नो ठेगाना वीरेन्द्रनगर वडा नम्बर र स्थान छनोट गर्नुपर्छ । क्रमशः प्रोभिन्समा कर्णाली, सिटीमा सुर्खेत, इन्ट्रक्सनमा आफू भएको स्थान राखिसकेपछि क्यालकुलेटिङ सिपिङ आउँछ । सुर्खेत बजार लेखिएकामा नियमित गरेपछि पेमेन्ट सिस्टम आउँछ । त्यहाँ अनलाइनबाटै पैसा तिर्न मिल्ने अप्सन (ई–सेवा, आईएमई–पे वा अन्य कुनै सेवा) देखाउँछ । अनलाइनबाटै भुक्तानी गर्दा आफूले प्रयोग गर्ने आईडी र पासवर्ड राखेर पैसा तिर्न सकिन्छ । बिल भुक्तानी गरेपछि संस्थानले फोन गर्छ र घरमै चामल पुर्‍याइदिन्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्