नुवाकोटका तीन स्वास्थ्य चौकीमा प्रसूति सेवाका लागि रेडक्रसद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण



नुवाकोट, कात्तिक २२। सुरक्षित प्रसूति सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन नुवाकोटका तीन स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति केन्द्रलाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटले शनिबार विदुर नगरपालिका–२ स्थित नुवाकोट स्वास्थ्य चौकी, विदुर नगरपालिका–३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्य चौकीका प्रसूति केन्द्रलाई लक्षित गरी स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

प्रसूति सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व सेवालाई प्रभावकारी बनाउने तथा स्थानीय स्तरमै आधारभूत प्रसूति सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले बताए। प्रभावकारी र सुरक्षित स्वास्थ्य सेवाका लागि आवश्यक सामग्री उपलब्ध गराइएको उनको भनाइ छ।

हस्तान्तरण गरिएका सामग्रीमा स्ट्यान्डर्ड डेलिभरी सेट, एपिसियोटोमी सेट, पेरिनियल तथा भजाइनल सेट, अटोक्लेभ मेसिन, इन्स्ट्रुमेन्ट ट्रली, प्रसूति टेबल, फुटस्टेप, परीक्षणका लागि आवश्यक प्रकाश उपकरणलगायत रहेका छन्।

त्यस्तै, नवजात शिशुको पुनर्जीवनका लागि रेडियन्ट वार्मर, अम्बु ब्याग, डिजिटल तौल मेसिन, डिजिटल तथा भित्ते थर्मोमिटर, फिटल डप्लर, सक्सन मेसिन, आईभी स्ट्यान्ड र रक्तचाप मापन गर्ने उपकरणसमेत उपलब्ध गराइएको छ।

सामग्री बुझ्दै विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थले स्वास्थ्य सामग्री तथा उपकरणको उपलब्धताले प्रसूति केन्द्रको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। यसबाट गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न र नवजात शिशुको प्रारम्भिक स्वास्थ्य हेरचाहमा सहयोग पुग्ने उनले बताए।

सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा र स्वस्थ समुदाय निर्माणमा रेडक्रसको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

रेडक्रस नुवाकोटले विपद् प्रतिकार्यसँगै स्वास्थ्य तथा मानवीय सेवाको सुदृढीकरण, स्थानीय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र समुदायको स्वास्थ्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। बाढीपछिको पुनःस्थापना तथा स्वास्थ्य क्षेत्रको सुधारमा समेत रेडक्रसले नुवाकोटमा निरन्तर काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्