नेपाली चलचित्र क्षेत्रको विकासका लागि मन्त्रालय र चलचित्र विकास बोर्डबीच कार्यसम्पादन सम्झौता



काठमाडौँ,कात्तिक २२। नेपाली चलचित्र क्षेत्रको विकासलाई नतिजामुखी बनाउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबीच कार्यसम्पादन सम्झौता भएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाको उपस्थितिमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेल र चलचित्र विकास बोर्डका अध्यक्ष मनीष पण्डितबीच चालु आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यसम्पादन सम्झौता गरिएको हो।

सम्झौताले नेपाली चलचित्र क्षेत्रको विकाससँगै संस्थागत कार्यसम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ। बोर्डका वार्षिक कार्यक्रम तथा प्राथमिकताको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता, नियमित अनुगमन र निर्धारित समयसीमाभित्र उपलब्धि हासिल गर्ने कार्यलाई सम्झौताले थप व्यवस्थित बनाउने जनाइएको छ।

स्पष्ट लक्ष्य, सुनिश्चित जिम्मेवारी र मापनयोग्य उपलब्धिमार्फत नेपाली चलचित्र क्षेत्रको विकासलाई गति दिने उद्देश्य सम्झौताको रहेको चलचित्र विकास बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्