आधा दर्जन क्षेत्रका साढे ३६ लाख मानिस बेरोजगार



काठमाडौं,जेठ १३ । रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न पुगेका छन् ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लगाएको १ महीना पुग्दै छ । यस अवधिमा वेरोजगार बन्नेको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसरी बेरोजगार हुनेहरूका लागि तत्कालै सम्बोधन हुने खालका राहतहरू भने संघ, प्रदेश र स्थानीय तहबाट आउन नसकेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । जिफन्टमा हालसम्म विभिन्न क्षेत्रका गरी उक्त संख्यामा मजदूरहरू बेरोजगार भएको सर्वेक्षणले देखाएको उनको भनाइ छ ।

होटेल, यातायात, उद्योग प्रतिष्ठानलगायत १९ ओटा क्षेत्रमा रहेका विभिन्न ट्रेड युनियनबाट ६० जिल्लाका साथै नगरहरूमा सर्वेक्षण गरिएको थियो । सोही सर्वेक्षणअनुसार जिफन्टले पर्यटन (होटेल, ट्राभललगायत) क्षेत्रमा ९ लाख, यातायात क्षेत्रमा कार्यरत झन्डै साढे ११ लाखमध्ये साढे ८ लाखले रोजगारी गुमाएका छन् । यो क्षेत्रका एम्बुलेन्स, खाद्यन्न ढुवानी गर्ने सवारीलगायत केही भने सञ्चालनमा छन् । यसैगरी निर्माण क्षेत्रका २५ लाख श्रमिकमध्ये ५० प्रतिशत बेरोजगार भएका छन् । निषेधाज्ञा भए पनि कतिपय राष्ट्रिय गौरवका आयोजनाहरूमा काम भइरहेको, आयोजनामै आइसोलेशन सेन्टर बनाएर निर्माणका काम भइरहेको पाइएको श्रेष्ठले बताए । मुलुकभर दैनिक भारी बोकेर गुजारा गर्नेको संख्या ५० हजार रहेको र यी सबै बेरोजगार रहेको जिफन्टले उल्लेख गरेको छ । ब्यूटिपार्लर क्षेत्र पनि अहिले पूर्ण बन्द रहेको छ । यस क्षेत्रमा ३ लाख मानिस आबद्ध तथा रोजगार भए पनि अहिले व्यवसाय ठप्प छ ।

अर्काे ठूलो संख्या भनेको स्वरोजगार क्षेत्र हो । फुटपाथमै भए पनि नाँग्लो राखेर, हात, झोलामा सामान राखेर विक्री गर्नेहरू थप प्रभावित भएका छन् । यस्ता व्यवसायीहरूको संख्या झन्डै ३ लाख रहेको जिफन्टको तथ्यांक छ । निषेधाज्ञाबाट घरेलु श्रमिकहरू पनि प्रभावित भएका छन् । घरमै बसेर ऊनी धागोका सामग्रीहरू बनाउने र हस्तकलाका सामग्री बनाउनेहरूमध्ये २५ प्रतिशत बेरोजगार भएको पाइएको छ । बेरोजगारको अवस्थामा गतवर्ष जारी गरिएको बन्दाबन्दीभन्दा अहिलेको निषेधाज्ञामा फरक दृश्य देखिएको उनको भनाइ छ ।

‘गतवर्ष कोरोनालाई नै देखाएर अत्यावश्यकबाहेक सबैखाले उद्योग व्यवसायहरू बन्द गरिएका थिए भने रोजगारबाट पनि श्रमिकहरू निकालिएका थिए,’ श्रेष्ठले भने, ‘अहिले उद्योगहरू गतवर्षभन्दा धेरै खुलेका छन् ।  शैक्षिक संस्थाहरू पनि भर्चुअल माध्यमबाट सञ्चालनमा छन् ।’ उनले अहिले रोजगारीबाट निष्कासन गरिएको भनेर जानकारी नआएको तर पारिश्रमिक नपाएको अवस्था भने विद्यमान रहेको उनले बताए ।

बोर्डिङ स्कूल, फ्रन्टलाइनर स्टाफ नर्सहरू, बैंकमा काम गर्नेहरूले नियमित रूपमा पारिश्रमिक नपाएको अवस्था छ । यसैगरी बन्दाबन्दीबाट प्रभावितमध्ये अर्काे ठूलो क्षेत्र यातायात हो । यस क्षेत्रमा काम गर्नेहरू र लगानीकर्ताहरू पनि अत्यन्त प्रभावित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए ।

‘यातायात क्षेत्रमा मन्दी लागेको छ र सरकार कहाँ छ भन्ने हामीलाई थाहा छैन,’ कर्माचार्यले भने, ‘अहिले बजेटमा सरकारले केकस्तो नीति ल्याउँछ भनेर कुरिरहेका छौं । यदि यस क्षेत्रलाई राहत मिल्ने खालका कुनै योजना नआएमा मुलुकभरका सवारीसाधन नै सरकारलाई बुझाउनेछौं ।’

महासंघका अनुसार सार्वजनिक यातायातको संख्या ३ लाख र मालवाहक सवारीको संख्या ६० हजार रहेको छ । अहिले ८० प्रतिशत व्यवसायीहरूले ऋण तिर्न नसक्ने भइसकेको उनको भनाइ छ । उनले ब्याज पूर्ण मिनाह गर्नुपर्ने, शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेलगायत माग राखिएको बताए । अहिले उद्योग, निर्माण क्षेत्रहरूका साथसाथै निर्माण व्यवसायी महासंघले भर्चुअल रूपमा सामूहिक छलफल गरी मजदूरहरूलाई काम पनि दिने र संक्रमणको अवस्थाबाट पनि बचाउन सक्ने खालका नीतिहरू लिएर अघि बढ्न सुझाव दिइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्