पहिरोमा एक्साभेटरसहित चालक पुरिए, उद्धार जारी



म्याग्दी,बैशाख १८— म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ भिजरास्थित सडक निर्माणका क्रममा शुक्रबार दिउँसो एक्कासि पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका छन्।

भिजरादेखि भजने जाने नयाँ मोटरबाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो झरेपछि उक्त दुर्घटना भएको हो। पहिरोले मेसिनलाई पूर्ण रूपमा पुरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रहरीसहितको टोली घटनास्थलमा खटिएर उद्धार कार्यमा जुटिरहेको छ। तर, मेसिन पुरै पुरिएकाले चालकलाई बाहिर निकाल्न हालसम्म सफल हुन सकेको छैन।

पहिरोमा पुरिएको एक्साभेटरभित्र रघुगङ्गा गाउँपालिका–२ निवासी ५२ वर्षीय पदम कार्की रहेको पुष्टि भएको छ। मेसिन गम्भीर रूपमा थिचिएकाले चालकको अवस्थाबारे तत्काल केही भन्न नसकिने प्रहरीले जनाएको छ।

हाल घटनास्थलमा प्रहरी र स्थानीयवासीको सक्रियतामा उद्धार प्रयास जारी रहेको छ। भौगोलिक विकटता तथा थप पहिरोको जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्