२४ घण्टामा २ हजार बढी चालक कारबाहीमा, झण्डै २० लाख राजस्व संकलन
काठमाडौं,बैशाख १८ । बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ९३ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६५ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २२५ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३७ जना र तीव्र गतिमा सवारी चलाउने १५३ जनालाई कारबाही गरिएको हो।
त्यस्तै ‘लेन’ अनुशासन पालना नगर्ने १९४ जना, निषेधित क्षेत्रमा हर्न
बजाउने ५८ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९ जना, तोकिएको स्थानबाहेक यात्री चढाउने–ओराल्ने ४१ जना तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार १२१ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी नियमको कडाइका साथ कार्यान्वयन गर्दै सुरक्षित र व्यवस्थित यातायात प्रणाली कायम गर्न निगरानीलाई थप प्रभावकारी बनाएको जनाएको छ।

