कारभित्र तीन बालकको मृत्युको अनुसन्धान पूरा, कारण यस्तो



दाङ,जेठ १३ ।दाङमा एक कारभित्र तीन बालकको मृत्यु निस्सासिएर भएको भिसेरा रिपोर्टले देखाएको छ । प्रहरीले बालकको मृत्युको विषयको अनुसन्धान पूरा गरेको छ । बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लटे आर जे १ सिसी ८८५ को कारभित्र तीन बालकको शव फेला परेको थियो। बालकहरू तुलसीपुर ६ बरूवाका थिए।

स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियारको कारभित्र निस्सासिएर मृत्यु भएको हो । अक्सिजन अभाव र कार्वनमोनोअक्साइडले गर्दा निस्सासिएर उनीहरूको मृत्यु भएको भिसेरा रिपोर्टमा उल्लेख भएको प्रहरीको भनाइ छ ।

बालकहरू खेल्दै कारभित्र प्रवेश गरेको र भित्रबाट ढोका लक हुँदा उनीहरू बाहिर निस्कन नसकेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ । प्रहरीले कार चालक र कार धनीलाई अदालतमा पेश गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्