मेलम्ची खानेपानी आयोजनाको क्षति यकिन गर्नै मुश्किल



सिन्धुपाल्चोक,असार १० । गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अझै यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको यकिन गर्न नसकिएको हो । आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो । त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो । किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ । निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो ।

आयोजनाको हेडवक्र्समा बाढी पसेकाले त्यहाँ भएका अस्थायी संरचना सबै बगेका छन् । ‘हेलिकोप्टर र ड्रोनको मद्दतले माथिबाट हेर्दा हेडवक्र्सको संरचना पानीमुनि डुबेको अवस्थामा देखिन्छ,’ पन्तले भने, ‘बायाँपट्टिको रिटेनिङ पर्खाल देखिँदैन । निर्माण व्यवसायी, श्रमिकका शिविर र सामान राख्ने ठाउँ सबै बगाएको छ ।’ उनले हेडवक्र्स अभैm डुबिरहेकाले त्यसमा कति क्षति भयो र त्यसको निर्माणका लागि कति समय र स्रोत आवश्यक पर्छ भन्न नसकिने बताए ।

मेलम्ची बजारबाट २१ किलोमीटर पर रहेको उक्त संरचनामा पुग्न पार गर्नुपर्ने चारओटा पुल बाढीले बगाएको छ । स्थलगत भ्रमणमा जान नसकिएकाले अहिले क्षतिको प्रारम्भिक अनुमान मात्रै गर्न सकिएको पन्तले बताए । उनका अनुसार करीब १ अर्बको क्षति भएको हुनसक्ने अनुमान छ । मेलम्ची खानेपानी आयोजना २ महीनामा सम्पन्न गर्ने कार्यतालिका थियो ।

‘बाढीले गर्दा कार्यतालिका प्रभावित बनेको छ,’ पन्तले भने, ‘अम्बाथानको सुरुङ पुरै बालुवाले भरिएको जानकारी आएको छ, सुरुङलाई सफा गरेर पानी पथान्तरण गर्न कम्तीमा २ महीना लाग्ने देखिन्छ ।’ हेडवर्क्ससम्म पुग्ने बाटोमा क्षति भएको, पुल र सडक मर्मत गरी यातायात सुचारु गराउन हेलम्बु गाउँपालिका र नेपाली सेनासँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

‘अहिले सबैभन्दा आवश्यक भनेको हेडवक्र्स क्षेत्रमा पुग्नु हो । त्यसका लागि प्रवेशमार्ग र पुलहरूको निर्माणको गर्नु अत्यन्त आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि पालिका, नेपाली सेना र सडक विभागसँग समन्वय गरिरहेका छौं ।’ निर्माणस्थलमा रहेको बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प, खानेपानी, शौचालयलगायत सबै संरचना र निर्माण व्यवसायीका उपकरणसमेत बगाएको पन्तले बताए ।

मुख्य संरचनामा क्षति नपुगे पनि बाढीका कारण वैकल्पिक पथान्तरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले जानकारी दिए ।

भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउने, जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उनले बताए । ‘भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ,’ उनले भने । अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने प्रवक्ता पन्तले बताए । अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन ।

निर्माणस्थलभन्दा माथिबाट आएको पहिरोका कारण आयोजनाको हेडवक्र्स निर्माणमा संलग्न सिनो हाइड्रोका आठ जना कामदार बेपत्ता भएका थिए । तीमध्ये हालसम्म तीनओटा शव भेटिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्