एमसीसीको टोली आइपुग्यो नेपाल, पहिलो भेट ओलीसँग



काठमाडौं,भदौ २४ । अमेरिकी मिलेनियम च्यालेन्ज अपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली चार दिने भ्रमणका लागि नेपाल आइपुगेको छ। उहाँ केहीबेरअघि कतार हुँदै काठमाडौं आइपुग्नुभएको हो । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उहाँको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा द्विपक्षीय सम्झौता भएको थियो ।

पहिलो भेट ओलीसंग

नेपाल भ्रमणमा रहेकी एमसीसी टोलीको पहिलो राजनीतिक भेट प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएको छ । उपाध्यक्ष फातिमाको आज दुई ओटा कार्य तालिका रहेको छ । पहिले ओलीलाई भेट्न फातिमाको टोली भक्तपुरस्थित ओली निवास बालकोट पुग्ने छ । उनीहरुको टोली दिउँसोतिर बालकोट जाने तय भएको छ । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बाकीको राजनीतिक भेटघाटको लागि भोलीको समय छुट्याएको छ । भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्