इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल
काठमाडौं,असोज ९ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ। राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबार क्षेत्रमा रहेको गद्दी बैठक पुग्नुभएको हो। उहाँले २०८० सालदेखि इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदल गद्दी बैठक पुग्दै आउनुभएको छ।
राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू गद्दी बैठक पुग्नुभएको थियो।
त्यसैगरी स्थानीय तहका जनप्रतिनिधिलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको पनि जात्रा अवलोकनमा सहभागिता रहेको थियो।जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला तथा दक्षिणा चढाएर रथयात्रा सञ्चालनका लागि अनुमति दिनुभएको थियो। त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो।
भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज शुक्रबार मुख्य दिन हो।

